मुक्तक प्यारोडी :
मानकाजी ‘ज्येना‘ (१ जुलाइ, २०१९ )
हैन, यहाँले भान्छा त गर्नू भयो ?
परिचयबाट सुरु गरौँ, त्यो पनि मेरैबाट :
मेरो जन्मभूमी नेपाल, अति पुरुष प्रधान देश,
थियो छ र अझ कति सम्मलाइ हुनेछ त्यो भविष्यले वताउला,
भने हालको मेरो कर्म भूमी क्यानाडा चाहिँ महिला प्रधान देश रहेछ।
अनि, ‘देश गुनाको भेष र कपाल गुनाको केश‘ भन्ने नेपाली उक्तिलाइ चरितार्थ गर्दै,
मेरो परिचय मेरी श्रीमतिजीबाटै सुरु गर्दैछु :
मेरी श्रीमतीलाई बहिनी भन्नेहरको लागि भने म ढोगनीय ‘ज्वाईं नारायण‘ हुँ
मेरी श्रीमतीलाई दिदी भन्नेहरको लागि भने म पुजनीय ‘भेना‘ हुँ
अरुहरुको लागि भने म एक क्यानेडिएन सर्टिफाइड ‘ज्येना‘ हुँ ।
मेरी श्रीमतिजी क्यानाडा आएपछि भइन ब्यस्त, एकदम कामकाजी
म चाहिँ नीजको पतिदेव जन्मले गोर्खाली म ‘ज्येना‘ मानकाजी को
यहाँहरु सबैलाइ हार्दिक स्वागत तथा अभिवादन टक्र्याउंदै
केही मुक्तक-कम-प्यारोडी वा प्यारोडी-कम-मुक्तकबाट सक्दो मनोरञ्जन प्रदान गर्ने कोशिश गर्दैछु।
उप्रान्त :
४५ हजार एन.जि.ओ.,आइ एन.जि.ओ,
३ करोड जनसंख्या र ३३ कोटी देवी—देवता
भएको गजबको देश रहेछ विश्वमा — सिर्फ एउटा
हुनत हाल एन.जि.ओ.हरुको संख्या बढेर ६० हजार पुगीसक्यो रे भनिन्छ भने
त्यस्तै हाम्रा ढोगनीए देवी—देवताको जनसंख्या पनि नबढने त कुरै भएन,
किनकि तिनीहरुको अरु कामै पो के छ र?
६० वर्ष पहिले म बच्चा हुंदाको ३३ कोटी
हाल, ६० वर्ष पछि आयर कम्तिमा तेब्बर मात्रै को
हिसाब गर्नेहो भने १ अर्ब अर्थात १०० कोटी पुग्ने हुन्छ ।
६० हजार एन.जि.ओ.,आइ एन.जि.ओ, ३ कोटी जनता तथा १०० कोटी देवी-देवता
भएको अचम्मको देश रहेछ विश्वमा — सिर्फ एउटा
जहाँ घोषित भूकम्प र अघोषित नाकावन्दिले हाल
पाल, त्रिपाल तथा विदेशी एड्सले अनिकाल परेको
तर खुराफाति तथा विचौलियाहरुले भरिएको
तथा प्राकृतिक सम्पदाले परिपूर्ण भएको
जात्रै जात्राले सजिएको, जनता भन्दा नेता बढी भएको बिचित्र को
देश हो रहेछ — नेपाल।
जहाँ, गत २०७२ साल बैशाख १२ गतेलाइ साइत पारी
गोरखा लाप्राकलाइ केन्द्रबिन्दू बनाइ
एक शक्तिशाली भू —कम्प आउनुभयो
र नेपाललाइ क्षत—विक्षत पारी जानुभयो ।
यसको लगत्तै पछि,
नेपालका माननीय ६०१ सभासद डनहरु
गोरु ब्याय झै एकाएक ब्याउनुभयो
६ वर्ष भन्दा बढी लगाएर, ६०० अर्ब भन्दा बढी खर्चेर
१ थान गणतन्त्रे सम्विधान जारी गर्नू भयो ।
हुन त यदि सम्विधानवीदहरुलाइ यो काम दिएको भए,
६ जनाभन्दा कम सम्विधान वीदहरु मिलेर, ६ महिना भित्रै
६ करोड भन्दा कम लागतमा तयार पार्थेहोलान , तर,
तर सतिले सरापेको देश नेपालको नियम कानून भनिन्छ नि दैवले जानून।
सम्विधान जारी गरेको लगत्तै पछि,
सम्विधानका पक्षघरहरुले दिउसो विजय जुलुस निकाले
भने राति दीपावलीका साथ भोज भतेर गरे
तर, सम्विधानका विपक्षघरहरु मुल त र विशेषगरी
हिन्दुस्थानसँग जोडिएका नेपाली भू-भागका तराइ वासीहरुले,
जानेर वा नजानेर, दवावमा परेर वा पैसा लिएर, दिउसो नारा जुलुस गरे
भने रातिसम्ममा सम्विधानका प्रतिहरु च्याते जलाए ।
ठीक एही मौका छोपी, नेपालको तथाकथित मीत्रराष्ट
भारतको भाजपाको मोदी सरकारले नेपाल र भारतबीच
शदियौंदेखीको रोटी र वेटीको हाडनाता को दुहाइ दिंदै,
मुखमा राम राम, वगली मा छुराको मीठो कुरा गर्दै,
झुसे दाह्री मुसार्देै, नेपाल र नेपालीलाइ
१ थान नाकावन्दीको उपहार टक्र्याउनु भयो
र शकुनी पाराले हाँस्नुभयो ।
यस पछि —
भारतवाट नेपाल आयात हुने सारा का सारा कुराहरु एकाएक ठप्प पारियो
गाडी तथा मान्छेको लागि चाहिने यावत चिजहरु
पेट्रोल, डिजेल तथा भात पकाउने ग्यास, तेल मटितेल आदि साराका सारा कुराहरु ठप्प पारियो ।
नेपालमा हाहाकार मच्चियो, नेपालीहरुको दैनिकी चुलोचौको बल्नै गाह्रोभयो
हुँदा हुँदै नेपालीहरुलाइ हातमुख जोर्ने धौ धौ गाह्रो भयो
त्यसैले भेटने बित्तिकै सर्वप्रथम
सोधिने गर्दा रहेछन, "हैन यहाँले भान्छा त गर्नू भयो ?"
हुन त कुरो यत्तिमै टुंगिनु पर्ने हो
तर मैले फोस्सा प्रतिप्रश्न गर्दै भन्ने गरेको छु कि
"भान्छा गर्नू भएकोमा वधाइ छ।"
तर एउटा प्रश्न सोध्न मन लागेको छ
कि यहाँले खाना कसरी खानुभयो ?
पकाएर कि टुना मुना गरी फकाएर वा धोतिहरुले सातु खाएझै काँचै पो फांको मार्नू भयो ?
अन्तमा सुन्नेलाइ सुनकोमाला,
भट्टयाउनेलाइ फूलको माला,
फेरी भट्टयाउनेवेलामा तु. आइजाला
र मन परे पनि नपरे पनि मजाले ताली चाहि वजाइदिनूहोला,
किनकि ताली बजाउने गर्नाले ६० प्रतिशत कम हृदयघात हुने हुनाले ।